वित्तीय व्यवस्थापन तालिम सम्पन्न
२०८० चैत्र १० गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम संघको तालिम हलमा सम्पन्न भयो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा रहेको वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन र सुशासन नहुँदा सहकारीमा तरलताको जोखिम, लगानीका जोखिम, संचालन जोखिम लगाएका समस्याहरु देखिएको बताउनुभयो । उहाँले संस्थालाई मजबुत बनाउन ऋण नोक्सानी कोषको व्यवस्था, सदस्यको धन तथा धित्तो जमानीमा मात्र ऋण प्रवाह र तरलता व्यवस्थापनलाई ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको दिगो विकासको लागि दिगो वित्तिय व्यवस्थापन गर्नुपर्ने बताए । उहाँले सहकारीमा शेयर दायित्वलाई कम गर्दै जगेडा कोषलाई बढाउन सके लाभाशँमा सकस नपर्ने बताउनुभयो । साथै सहकारीमा बचतको विविधिकरण अन्र्तगत नियमित बचत र अन्य बचतको न्यूनतम मौज्दात कायम रहेन दिर्घकालीन दायित्वको भारलाई बढाउदै लान सके वित्तीय स्थिरतामा टेवा पुग्ने उहाँको भनाई थियो ।
तालिमका सहजकर्ता ज्ञानमणि न्यौपानेले तालिममा सिकेका कुराहरु सहकर्मीहरु लाई पनि सिकाई संस्थामा व्यवहारिक प्रयोगमा ल्याएमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । उहाँले सिकाइ कहिल्यै पनि नसकिने विषय भएकोले निरन्तर सिक्ने इच्छा चाहानालाई उर्जाशिल बनाई राख्नुपर्ने विचार राख्नुभयो ।
तालिममा सहभागीहरुले सहकारीमा वासलातको प्रभावकारी व्यवस्थापन, आम्दानी खर्च, कोष, व्याजदर निर्धारण, कोष बाँडफाँड लगाएताका विषयमा प्रभाकारी सिकाई भएको खुशी व्यक्त गर्नुभयो । तामिलमा संघमा आबद्ध संस्थाहरुका व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे सहभागिता रहेको थियो । तालिमको समापन संघका कर्मचारी रोकेश जोशीले गर्नु भएको थियो ।