२०८१ असार १४ र १५ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा केभी लन्च, कमलविनायक भक्तपुरमा दुई दिवसिय नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन २०७४ मा नै प्रचलित कानून बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था भएकोले पचास करोड भन्दा बढी निक्षेप संकलन गर्ने संस्थाले अनिवार्य ल्ँच्क् बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने बताउनु भयो । उहाँले वित्तीय कारोबार थप यथार्थपरक र अझ बढी स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा NFRS ले गर्ने भएकोले संस्थाको जोखिमलाई न्यूनिकरण गरी दीगो सहकारी संस्था विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
संघको उपसमितिका सदस्य विकुलाल सुवालले NFRS मा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिमका आयोजना गरेको बताउनुभयो । उहाँले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई NFRS ढाँचामा परिवर्तन गर्न सकोस् भनी दुईदिनको प्रयोगात्मक तालिम संचालन गरेको बताउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिमलाई व्यवहारिक बनाउन नमूना वित्तिय प्रतिवेदनमा दुई दिन प्रयोगात्मक सिकाई गरी संघ संस्थाले आफ्नो वित्तीय विवरण आफै NFRS मा ढाँचामा परिणत गरी पुन एक दिन सो परिवर्तन गरेका प्रतिवेदनका बारेमा प्रशिक्षण हुने बताउनु भयो । साथै सिकेका कुराहरु कार्यरत संस्थामा व्यवहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाई हस्तान्तरण गर्नुपर्ने विचार राख्नुभयो ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ, सरोज शर्मा र एच पहाडी एण्ड एसोसिएट्सका सि.ए.हुकुम पहाडीले NFRS ढाँचाको सहजिकरण गर्दै NFRS को ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र NFRS अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ती, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थगन लगाएतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिनुभयो । तालिमको समापन समारोह संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट NFRS ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रायोगात्मक ज्ञान हासिल भएको बताउनुभयो । तालिममा संघ र संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक, लेखाअधिकृत गरी २० जनाको सहभागिता रह्यो ।