News

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८१ पुष २५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुर बैक्वेट, हाकुफोहीटी, भक्तपुरमा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोध नगर्ने अध्यादेश २०८१ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा लोभी सदस्य, कमजोर नियमन निकाय र सहकारी अभियानका कारण सहकारीमा समस्या भएको बताउदै अध्यादेशले सहकारी क्षेत्रलाई पार्ने नकारात्मक असरको विष्लेषण गरेर मात्र अभियानका शिर्षक निकायहरुले धारणा राख्नुपर्ने बताउनुु भयो । वहाँले सहकारी अध्यादेश बारे सदस्य संस्थाहरुलाई जानकारी गराउनुको साथै अध्यादेशमा संशोधन गर्नुपर्ने बुदाँहरुको एकमत धारणा बनाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो । वहाँले यस बर्ष राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून र बागमती प्रोस्कूनबाट उत्कृष्ट संघको पुरस्कार प्राप्त गर्न सफल भएकोमा सदस्य संस्था, पूर्वसंचालक र शुभचिन्तक सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

अतिथि काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दिपक पनेरुले सहकारीमा समस्या भएका सहकारीलाई मात्र समाधान गर्ने गरी अध्यादेश जारी हुनुपर्नेमा समग्र सहकारी सिध्याउने गरी अध्यादेश आएकोमा चिन्ता व्यक्त गर्नु भयो । वहाँले अध्यादेश बारेमा जिल्लामा छलफल गरी अभियान एकमत भएर अध्यादेश संशोधनका लागि पहल र दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।

संघका उपाध्यक्ष हरी कृष्ण बल्लले व्यक्तिगत बचतको सिमा दश लाख र ऋणको सिमा प्राथमिक पुँजीकोषको १५ प्रतिशत तोक्नु भनेको श्रोत भन्दा बढी ऋण लगानीले समस्या निम्त्याउने बताउनुभयो । उहाँले सहकारीको मूल्य मान्यता तथा सिद्धान्त विपरित व्यक्तिगत बचत सिमा तोक्नु गलत हुनुको साथै यस व्यवस्थाले बचत फिर्ताको चाप बढाई समग्र सहकारी क्षेत्रलाई समस्यामा ल्याउने विचार व्यक्त गर्नुृभयो ।

बागमतीप्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले अध्यादेशमा भएको व्यवस्था र यसले पार्ने असरको बारेमा कार्यपत्र प्रस्तुतगर्दै अध्यादेश लागु भइसकेको अवस्थामा सहकारीले कानुन पालनाका लागि ध्यान दिनुपर्ने कुरा बताउनुभयो । उहाँले सहकारीलाई तत्काल नकारात्मक असर गर्ने बुदाँहरुको तत्काल संशोधनका लागि अभियान एक मतभई दबाब र कानुनी उपचारको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघको प्रस्तुतीकरण गर्दै अध्यादेशले सहकारीलाई नियन्त्रण गर्न प्राधिकरण गठनले सहकारीको मर्म मर्ने बताउनुभयो । उहाँले स्वनियमको नाममा स्वेच्छेचारी ढंगले सहकारी संचालन गर्दा सहकारीमा समस्या देखिएका कारण सरकारले बाध्य भएर अध्यादेशमार्फत प्राधिकरण गठनलाई अगाडि सारेको हुन सक्ने बताउनु भयो । तर प्राधिकरणले सहकारीलाई कारोबारको आधारमा बर्गीकरण गरी मापदण्डहरु जारी गर्नुपर्ने उहाँको भनाई थियो । उक्त कार्यक्रममा सदस्य संस्थाका प्रतिनिधि, पूर्व संचालक र कर्मचारी गरी १८२ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८१ म तपसिल बमोजिम संशोधनका लागि पहलकदमी गर्ने साझा धारण बनाइयो ।
तपसिल
१)नेपालको संविधान २०७२ ले बचत गर्न पाउने नागरिकको मौलिक हक हनन हुने गरी कार्य क्षेत्रको आधारमा बचत तथा ऋणको व्यक्तिगत सिमा तत्काल खारेज गर्नुपर्ने ।

२) नेपालको संविधान २०७२ ले बचत गर्न पाउने नागरिकको मौलिक हक हनन हुने गरी एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन नसक्ने व्यवस्था खारेज गर्नुपर्ने ।

३)सहकारी संस्थामा नेतृत्वको बृद्धि विकास गर्न र नेतृत्व नै खालि हुन सक्ने अवस्था भएकोले कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा वढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने व्यबस्थालाई संशोधन गरी कुनै पनि व्यक्ति सहकारी संस्थाको अध्यक्ष पदमा निरन्तर दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्नुपर्ने ।

४) सहकारी संस्थाको संचालक प्रारम्भिक माथिल्लो तहको कुनै एक संघमा र संघमा रहेको सञ्चालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन सक्ने व्यवस्था थप्नुपर्ने ।


Related News

बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

२० औं बार्षिक साधारण सभा सम्पन्न

NFRS तालिम सम्पन्न

कर योजना तालिम सम्पन्न

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

Notices

वित्तीय तथा अन्य विवरण

व्याजदर परिबर्तन सम्बन्धमा


Members