सहकारीमा निर्णय प्रक्रिया अस्पष्ट हुँदा सुशासनमा चुनौती ः भक्तपुर जिल्ला संघद्वारा निर्णय लेखन तालिम सम्पन्न
भक्तपुर, २९ चैत ।
सहकारी संस्थाहरूको अनुगमनका क्रममा निर्णय प्रक्रिया अपुरो र अस्पष्ट देखिने गरेको भन्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्ना सदस्य संस्थाहरूका लागि ’निर्णय लेखन तालिम’ सम्पन्न गरेको छ। सहकारी ऐन, नियम र सिद्धान्त अनुरूप संस्थाका बैठकका निर्णयहरूलाई कानुनी र व्यावहारिक रूपमा सवल बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको हो।
राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित तालिममा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, उपसमिति सदस्य र व्यवस्थापक गरी ३५ जनाको उत्साहजनक सहभागिता रहेको थियो। बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले तालिमको सहजीकरण गर्नुभएको थियो।
तालिमको समापन समारोहमा संघका अध्यक्ष हरि कृष्ण बल्लले धेरैजसो सहकारीको अनुगमन गर्दा निर्णयहरू पूर्ण नभएको र अस्पष्ट पाइएकोमा चिन्ता व्यक्त गर्नुभयो। “सहकारीको ऐन, नियम र सिद्धान्त अनुसार निर्णय लेख्नुपर्छ। निर्णय स्पष्ट र पारदर्शी हुँदा मात्रै अनुगमनका क्रममा सहज हुन्छ र संस्थाको जवाफदेहिता बढ्छ,“ अध्यक्ष बल्लले भन्नुभयो । उहाँले धेरै तालिम दिँदा पनि संस्थामा व्यावहारिक सुधार नहुँदा दुःख लाग्ने बताउँदै सिकेका कुरालाई तत्काल व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमका सभापति, संघका संचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले जिल्ला संघले सधैं सहकारीहरूको सम्वद्र्धन र प्रवद्र्धनका लागि काम गर्दै आएको चर्चा गर्नुभयो। तालिमबाट प्राप्त ज्ञानले कार्यालय सञ्चालन र वैधानिक कागजात तयार पार्न कोसेढुङ्गा सावित हुने उहाँको विश्वास थियो।
समापन समारोहमा तालिम व्यवस्थापन उपसमिति सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन उपसमिति सदस्य भिमसेन श्रेष्ठले गर्नुभएको थियो।
तालिममा सहभागी इन्दिरा पोखरेल र केपि सुवालले आफूहरूले खोजेको र नबुझेको विषयमा स्पष्ट हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। “हामीले जे खोजेका थियौँ, त्यही पाइयो। अब संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य रूपमा यस्ता तालिममा सहभागी हुनुपर्ने र अन्य सदस्यलाई पनि यसबारे प्रशिक्षित गर्नुपर्ने महसुस भएको छ,“ सहभागीहरूको सामूहिक धारणा थियो।