News

कर योजना तालिम सम्पन्न

भक्तपुर, २० जेठ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ’कर योजना तालिम’ सम्पन्न भएको छ । भक्तपुरको आदर्शस्थित बागमती क्लबमा जेठ १९ गते आयोजित उक्त तालिममा सहकारी संस्थाहरूले व्यहोर्नुपर्ने कर दायित्व र नयाँ बजेट व्यवस्थाबारे विस्तृत छलफल तथा प्रयोगात्मक सिकाई भएको छ । तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै सहकारी नेतृत्वले हालै जारी अध्यादेशका कारण सहकारी क्षेत्रमा बचत फिर्ताको चाप अझ बढ्ने खतरा औंल्याएका छन् ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले संस्थाले तिर्नुपर्ने कर दायित्व समयमै दाखिला गरी दण्ड जरीवानाबाट बचाउने मुख्य जिम्मेवारी कर्मचारीकै भएको बताउनुभयो । उहाँले कर्मचारीहरू सदैव नयाँ ज्ञान र सीप सिक्न जागरुक हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो । सोही अवसरमा समसामयिक विषयमा बोल्दै अध्यक्ष बल्लले हालै जारी सहकारी अध्यादेशले संघलाई तीन वर्षभित्र कारोबार नगरी बचत फिर्ता गर्न दिएको आदेश व्यावहारिक नभएको टिप्पणी गर्नुभयो । यस व्यवस्थाले बचत फिर्ताको चाप झन् बढेर सहकारीमा थप समस्या सिर्जना हुने देखिएकाले अध्यादेश तत्काल संशोधन हुनुपर्ने उहाँको भनाइ थियो ।
संघका कोषाध्यक्ष एवं उपसमिति संयोजक कृष्णश्वरी मचामसीले संस्थालाई सही दिशामा लैजान सञ्चालक र व्यवस्थापनको ठूलो भूमिका हुने भन्दै कर तिर्ने जस्ता राज्यको दायित्व समयमै पूरा गर्नुपर्ने विचार राख्नुभयो ।
तालिमका प्रशिक्षक अधिकृत नवराज घोरसाईनेले करको विषय प्रभावकारी ढंगले बुझ्न लेखाको आधारभूत ज्ञान आवश्यक पर्ने बताउनुभयो । “हालै आएको नयाँ बजेट अनुसार करका धेरै व्यवस्था र प्रणालीमा परिवर्तन आएको छ । त्यसैले नयाँ प्रणालीबारे अद्यावधिक हुन जरुरी छ,“ उहाँले भन्नुभयो । घोरसाईनेले तालिममा कर दाखिला, अग्रिम कर दाखिला, इ–टिडिएस (E–TDS) र इ–फाइलिङ (E–Filing) को प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
तालिममा सहभागीहरूले सहकारीले दाखिला गर्नुपर्ने कर, राजस्व शीर्षक, दाखिला गर्ने तरिका, अनुमानित कर दाखिला लगायतका प्राविधिक विषयमा प्रयोगात्मक ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे । संघका अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य योगेन्द्र खर्बुजाले सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा सक्रिय रहन आग्रह गर्नुभयो । संघका उपसमिति सदस्य अनिल कुमार सुवालले सञ्चालन गर्नुभएको उक्त प्राविधिक तालिममा संघमा आबद्ध विभिन्न सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।


Related News

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...


Members