News

प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुरमा नगरस्तरीय प्रभातफेरी कार्यक्रम गरी मनाइयो सहकारी दिवस
भक्तपुर, २० चैत ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थामा जनताले जम्मा गरेको बचत रकम ठगी गर्ने सञ्चालक तथा पदाधिकारीहरूको निजी सम्पत्ति जफत गरेरै भए पनि फिर्ता गर्नुपर्ने बताउनुभएको छ । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले भक्तपुर नगरमा आयोजित ‘प्रभाफेरी तथा समापन समारोह’लाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले राज्यको ढुकुटीबाट नभई ठगहरूकै जायजेथाबाट पीडितको आँसु पुछ्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख प्रजापतिले सहकारी पीडितहरूको समस्या सम्बोधन गर्न नगरपालिका तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सामान्य नागरिकबाट नभई ठूला बडा र सरकार चलाउनेहरूबाटै सहकारीमा ठगी भएको छ। यस्ता ठगहरूलाई अनुहार हेरेर होइन, कानुन बमोजिम कडा कारबाही हुनुपर्छ । जोसुकै पहुँचवाला भए पनि बचतकर्ताको पैसाफिर्ता नगर्नेलाई छोडिने छैन।“उहाँले राज्यको कोषबाट अनुदान दिएर बचत फिर्ता गर्नु भन्दा अपचलन गर्ने कर्मचारी र पदाधिकारीबाटै असुल उपर गराउनु न्यायोचित हुने तर्क गर्नुभयो। “राज्यले गर्नुपर्ने काम सहकारीले गरिदिँदा पनि राज्यले उचित संरक्षण दिन सकेको छैन,“ उहाँले गुनासो गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सहकारीहरू अचेल सहकारी दर्शन र मूल्यमान्यता भन्दा पनि नाफा र प्रतिस्पर्धामा केन्द्रित भएका कारण समस्या आएको बताउनुभयो । केही सहकारी सञ्चालकहरूले संस्थाको पैसानिजी स्वार्थमा प्रयोगगर्दा सिंगो सहकारी क्षेत्र बदनाम भएको उहाँको विश्लेषण थियो । “सहकारीले गर्नुपर्ने कारबाही समयमै नगर्दा ठगहरूको मनोबल बढेको छ,“ उहाँले भन्नुभयो, “अहिले जनताको विश्वास घटेको छ, अर्बौँ–खर्बौँ रुपैयाँ निष्क्रिय भएको छ।सहकारीलाई ठूला परियोजना र शेयरमा मात्र केन्द्रित नगरी जनताको हितमा स्वास्थ्य केन्द्र र अस्पताल जस्ता सेवामूलक क्षेत्रमा लगानी गर्ने अवसर दिनुपर्छ।“
मध्यपुर थिमि नगरपालिकाले आयोजित प्रभातफेरी समापन समारोहमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले थिमि नगरपालिकाको सहकारी ऐनमै समस्याग्रत समिति गठन गर्न सक्ने व्यवस्थाबमोजिम सहकारी समस्याग्रस्त समिति गठन गरी कार्य शुरुगरी रु.१०,०००। (दश हजार) सम्मको बचत फिर्ता गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय समितिको आयोजनामा भएको प्रभातफेरी समापन समारोहमा नगर प्रमुख जिवन खत्रीले चाँगुमा सहकारीको संख्या तुलानात्मक रुपमा कम भएकोले समस्या नभएको बताउनु भयो । वहाँले सहकारीको समस्या नियमनकारी निकाय एक्लैले समाधान गर्न नसक्ने भएकोले अभियान र नियमनकारी निकाय संगै मिलेर समाधन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सूर्यविनायक नगर सहकारी समन्वय समितिको आयोजनामा भएको प्रभातफेरी समापन समारोहमा नगर उपप्रमुख सरिता भट्टराईले संविधानमा सहकारीलाई तीन खम्बे अर्थ नीति भित्र राखे पनि प्राथकितामा नराख्दा सहकारीमा समस्या बल्झिएको उहाँको तर्क थियो । सहकारी क्षेत्रमा समस्या देखा प¥र्यो भनेर सहकारीलाई तीन खम्बे अर्थनीतिबाट हटाउन सक्नेप्रति सचेत भई सहकारीलाई अर्थतन्त्रको दरिलो खम्बा बनाउन सम्पूर्ण सहकारीकर्मीहरु लाग्नुपर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले चाँगुनारायण नगरस्तरीय प्रभातफेरी कार्यक्रममा सम्बोधन गर्दै सहकारीमा बहु नियमनका कारण सहकारीमा नियमन प्रभावकारी बन्न नसकेको चर्चा गर्दै एकद्धार प्रणलीबाट सहकारीको नियमन गर्नुपर्ने बताउनुभयो । वहाँले सहकारीका सदस्यहरु उद्यमशिल बन्न आवश्यकता रहेको बताउदै सहकारीको संचालन पारदर्शिताले मात्र सहकारीको विश्वास पुनःस्थापितगर्न सक्ने बताउनुभयो । साथै उहाँले सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रमा भएका कमी कमजोरीलाई आ आफ्नो क्षेत्रमा सुधार गरी सहकारी सुद्दिढीकरणमा लान प्रतिबद्ध हुनुपर्ने विचार राख्नुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव बहादुर रायमाझीले सहकारीमा उद्यमशीलता र पारदर्शिता कायम गराउन गर्न सक्ने गतिविधिहरुको बारेमा चर्चा गर्नुभयो ।जिल्ला बचत संघका संस्थापक अध्यक्ष राजेन्द्रदुमरुले जिल्लाको सहकारी अवस्थाबारे प्रकाश पार्दै २०१३ चैत २० गते नेपालमा पहिलो सहकारी स्थापना भएको स्मरण गर्नुभयो । संस्थापक अध्यक्ष दुमरुले देशविकासका लागि सहकारीले गरेको ठोस कार्यको सूची सरकारले दिन नसकेकोमा आपत्ति जनाउनुभयो । उहाँले सहकारीलाई आर्थिक र सामाजिक रूपमा रूपान्तरणको माध्यम बनाउनुपर्ने र सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुने बताउनुभयो । संंघको पूर्व अध्यक्ष राधेश्याम सुवालले सहकारीलाई बहु नियमनकारी निकायको नियन्त्रणले सहकारी क्षेत्रमा अन्यौलता उत्पन्न भएकोले नियन्त्रणसंग प्रवद्र्धन समेत आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी दिवसको नाराको समिक्षा गर्दै सहकारी अभियानलाई उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।
‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ सम्पन्न भक्तपुर नगरमा भएको सहकारी प्रभातफेरी कार्यक्रमका सभापतित्व उपाध्यक्ष जगन्नाथ प्रजापतिले बैंक र वित्तीय संस्थाको रूपमा मात्र नभई सहकारीलाई सामाजिक उत्तरदायित्व र मूल्यमान्यताका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।संघका संचालक एवं चाँगुनारायण नगर सहकारी समन्वय समितिका संयोजक चण्डिका छुँकाले सहकारी ऐन २०७४ अनुसार कर्जा असुली न्यायाधिकरण गठन भई न्यायाधिकरणले कार्य सुचारु गरिसकेकोले सहकारी क्षेत्रको ऋण असुलीको समस्यालाई कानुनी समाधानको बाटो मजबुद हुने अपेक्षा गर्नुभयो । संघका संचालक एवं सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिका संयोजक विवेक श्रेष्ठले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विभिन्न कारणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने धेरै सहकारी संस्थाहरु अभिलेखिकरणमा छुट भएकोले दर्ता अभिलेखिकरणको बाटो खुल्ला नै राख्नुपर्ने विचार राख्नुभयो । उहाँले दर्ता अभिलेखिकरणमा छुट भएका सहकारी संस्थाहरुको सहि व्यवस्थापन हुन नसकेमा अराजक स्थितिको सृजना हुनेतर्फ पनि सजकहुनुपर्ने बताउनुभयो ।

संघको आयोजनामा भएको भक्तपुर, सूर्यविनायक र चाँगुनारायणमा भएको नगरस्तरीय सहकारी प्रभातफेरी समापन समारोहमा संघमा आबद्ध सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहित गर्न संघको कार्यविधि बमोजिम यस वर्ष उत्कृष्ट कार्य गर्ने संस्थाहरूको नाम घोषणा गरेको थियो ।
जिल्लास्तरीय उत्कृष्टः पारिजात बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक ५
भक्तपुर नगरस्तरीयः भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर ९
मध्यपुरथिमि नगरस्तरीयः सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि ४
सूर्यविनायक नगरस्तरीयः सिमल बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक १०
चाँगुनारायण नगरस्तरीयः झझल्को बचत तथा ऋण सहकारी संस्था लि., चाँगुनारायण ६

जिल्ला स्थित जिल्ला सहकारी संघ लि, जिल्ला कृषि सहकारी संघ लि., जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.र सम्बन्धीत नगरपालिको समन्वयमा ६९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरमा ७० वटा, मध्यपुर थिमि नगरपालिकामा ९० वटा, सुर्यविनायक नगरपालिकामा ५४ वटा र चाँगुनारायण नगरपालिकामा ३७ वटा संस्थाको हजारौ सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।


Related News

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...


Members