News

सहकारी अध्यादेश २०८३ विरुद्ध संघहरू एकजुट, कारोबार रोक्काले संकट निम्त्याउने

भक्तपुर, २८ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नेतृत्वमा भएको अन्तर–जिल्ला अध्ययन अवलोकन भ्रमणले हालै जारी “सहकारी अध्यादेश २०८३“ प्रति कडा आपत्ति जनाउँदै यसको तत्काल संशोधनका लागि साझा धारणा बनाउने निर्णय गरेको छ । धादिङ, नुवाकोट र रसुवाका जिल्ला बचत संघहरू सँगको छलफलपछि सहकारीकर्मीहरूले सरकारले संघहरूको कारोबार रोक्का गरेर सहकारी अभियानलाई नै संकटमा पारेको निष्कर्ष निकालेका छन् ।
भक्तपुर बचत संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संघहरूबीच सिक्ने, सिकाउने र समसामयिक विषयमा साझा धारणा बनाई सरकारलाई दबाब (लबिङ) दिने उद्देश्यले यो भ्रमण आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारी ऐन २०४८ देखि पाएको अधिकार प्रयोग गरी अर्बौंको कारोबार गरिरहेका संघहरूलाई एक्कासी रोक्नु गलतभएको उल्लेख गर्नुभयो । “समस्याको समाधान संस्था बन्द वा कारोबार रोक्का होइन, प्रभावकारी व्यवस्थापन हो” ,अध्यक्ष बल्लले भन्नुभयो ।
धादिङ बचत संघका अध्यक्ष सीता दुवाडीले अध्यादेशले प्रारम्भिक संस्थाहरूको संघमा कारोबार गर्ने अधिकार हनन गरेको र उनीहरूलाई बैंक तथा वित्तीय संस्था प्रति परनिर्भर बनाएको बताउनुभयो । नुवाकोट बचत संघका अध्यक्ष नारायण श्रेष्ठले संघहरूको कारोबार रोकिँदा सदस्यहरूको बचत फिर्तामा थप जटिलता आउने र अन्ततः जनताको पैसा जोखिममा पर्ने बताउनुभयो । रसुवा बचत संघका अध्यक्ष ओम प्रसाद आचार्यले कारोबार रोक्का भएपछि ऋण तिर्नु नपर्ने मानसिकता विकास भई सहकारी अभियान नै संकटमा पर्ने भएकाले अध्यादेशतत्काल संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य संस्थाहरूलाई दिँदै आएको सेवा र असल अभ्यासबारे प्रस्तुतीकरण गर्नुभएको थियो । भ्रमण टोलीले ती जिल्लाहरूका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरूको समेत अवलोकन गरेको थियो ।
२०८३ वैशाख २६ र २७ गते भएको यस भ्रमणमा भक्तपुर बचत संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो । यो भ्रमणले संघहरूबीच एकता, सहकार्य र साझा बुझाइ कायम गर्दै अध्यादेश संशोधनका लागि बलियो जनमत सिर्जना गरेको सहभागीहरूको ठहर छ ।


Related News

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...


Members