प्रविधिको अपरिहार्यता अध्यक्ष हरिकृष्ण बल्ल: संघहरूको अस्तित्वको लडाइँ
भक्तपुर, २० असार ।
परिवर्तित समय र बजार अनुसार प्रविधिको प्रयोग गर्न नसके उच्च शिक्षित व्यक्ति पनि आधुनिक समाजमा ‘अनपढ’ सरह हुने सरोकारवालाहरूले औंल्याएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा राधे राधे स्थित रोयल थाई एण्ड हस्पितालिटीमा सम्पन्न “नवीनतम व्यवसाय र प्रविधिमा महिलाको पहुँच” विषयक एक दिवसीय गोष्ठीमा सहभागी वक्ताहरूले सो धारणा राखेका हुन् । असार १९ गते आयोजित उक्त विशेष गोष्ठीमा संघमा आबद्ध ५२ जना महिला व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
गोष्ठीको उद्घाघाटन गर्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले आधुनिक युगमा प्रविधि र डिजिटल साक्षरता विना व्यवसाय र सहकारी सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको युगमा प्रविधि जान्नु अनिवार्य भइसकेको छ । प्रविधि चलाउन नजान्ने हो भने जतिसुकै शिक्षित भए पनि त्यो अनपढ जस्तै ठहरिन्छ ।” मन्तव्यकै क्रममा अध्यक्ष बल्लले संघहरूले कानुन सम्मत कारोबार गरीरहेको कारोबारलाई व्यवस्थापन गर्न संघहरुलाई सहकारी बैंकमा मर्ज गर्ने वा संघहरु मिलेर सहकारी बैंक गठन गर्ने व्यवस्थाले संघहरुलाई विस्थापित गर्ने उहाँको भनाइ थियो । संघहरूको ऐतिहासिक अस्तित्व नै मेट्ने भएकोले संघ आत्मनिर्भर हुने गरी संघको कारोबार व्यवस्थापन हुनुपर्ने अध्यक्ष बल्लले बताउनु भयो ।
संघकी सञ्चालक एवं महिला सशक्तीकरण उपसमिति संयोजक शुशिला पराजुलीले १०४ औं अन्तराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा गोष्ठीको आयोजना गरेको बताउनुभयो । उहाँले विभिन्न संस्थामा आबद्ध व्यवसायी महिलाहरूलाई एकै ठाउँमा भेला गराई एक आपसमा व्यावसायिक सञ्जाल (Networking) निर्माण गर्न टेवा पुग्ने बताउनुभयो । “हामी महिलाहरूले परम्परागत ढङ्गले मात्र व्यवसाय गरेर पुग्दैन । प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउन यो गोष्ठीले ठूलो सहयोग पु¥याउनेछ ” संयोजक पराजुलीले स्पष्ट पार्नुभयो।
यसअघि कार्यक्रमको सुरुमा सहभागीहरूलाई स्वागत गर्दै उपसमिति सदस्य बन्दना पोखरेलले वर्तमान बजारमा डिजिटल मार्केटिङको महत्वबारे चर्चा गर्नुभएको थियो । उहाँले उपभोक्ताको चाहना र प्रविधिको विकास सँगसँगै नवीनतम व्यवसायको पहिचान र डिजिटल मार्केटिङका बारेमा गोष्ठीमा व्यावहारिक सहजीकरण हुने जानकारी दिनुभयो।
गोष्ठीमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका वरिष्ठ प्रशिक्षक सुन्दर श्याम घिमिरेले नवीनतम व्यवसायमा प्रविधिको प्रयोग, बजारमा अवसरको पहिचान र व्यवसायको नेटवर्किङ (सञ्जाल विस्तार) का बारेमा व्यवहारिक रूपमा सिकाउनुभएको थियो । त्यस्तै, प्रतिष्ठानकै अर्का प्रशिक्षक अभिषेक रिसालले वर्तमान समयका चर्चित डिजिटल माध्यमहरू फेसबुक, भाइबर, इन्स्टाग्रामका साथै आधुनिक एआई प्रविधिहरू जस्तै च्याट जीपीटी (ChatGPT र गुगल जेमिनी (Google Gemini) को प्रयोग गरेर कसरी डिजिटल मार्केटिङ गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उपसमितिकी सदस्य जमुना थापाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागी महिलाहरूले आधुनिक प्रविधि र एआई टूल्सको व्यावसायिक प्रयोगबारे सिक्न पाउँदा व्यवसायलाई नयाँ उचाइमा पु¥याउन आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए।