News

अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यविधि नबन्दै निर्णय लाद्नु विधिको शासन विपरीत ःअध्यक्ष बल्ल
भक्तपुर, ११ भदौ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा संशोधित सहकारी ऐन २०७४ र सहकारी रजिष्ट्रार कार्यालयले हालै जारी गरेको निर्देशनका विषयमा भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सभाहल, च्याम्हासिंहमा एक वृहत् जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सरकारले आवश्यक कार्यविधि नै तयार नगरी सहकारी रजिष्ट्रार कार्यालयले एकीकरण वा बैंक गठनको निर्णय लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन्।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले संशोधित सहकारी ऐनले संघहरूलाई कारोबार व्यवस्थापनका लागि तीन वर्षको समयसीमा दिएको स्मरण गराउनुभयो । ऐनको उक्त प्रावधान विपरित रजिष्ट्रार कार्यालयले नयाँ बचत तथा ऋण रोक्का गरी चालु आर्थिक वर्षकै साधारण सभाबाट सहकारी बैंक गठन वा एकीकरणको निर्णय गर्न दबाब दिनु गैरकानुनी भएको उहाँको भनाइ थियो।
“सहकारी संघहरूले बैंक खोल्न वा एकीकरणमा जान आवश्यक पर्ने कार्यविधि नै अहिले सम्म जारी भएको छैन,”अध्यक्ष बल्लले भन्नुभयो, “ऐनमै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अनुगमन तथा सहजीकरणमा यी प्रक्रिया अघि बढाउने स्पष्ट व्यवस्था हुँदाहुँदै हतारमा रजिष्ट्रार कार्यालयबाट यस्तो निर्देशन जारी हुनु विधिको शासन विपरित हो।”
संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले संघ सँग वर्तमान चुनौती सामना गर्न सक्ने पर्याप्त सक्षमता रहेको प्रष्ट पार्नुभयो । उहाँकाअनुसार संघका अगाडि मुख्य तीनवटा विकल्प रहेका छन् । सहकारी बैंक गठन गर्ने, राष्ट्रिय सहकारी बैंक सँग एकीकरण (मर्ज) मा जाने र तीनवर्षपछि बचत तथा ऋणको कारोबार बन्द गरी अन्य प्रवद्र्धनात्मक भूमिकामा रहने । उहाँले संघको दीर्घकालीन अस्तित्व र दिगो विकास सुनिश्चित हुने गरी सदस्य संस्थाहरूको व्यापक छलफलबाट मात्र उपयुक्त विकल्प छनोट गरिनुपर्ने धारणा राख्नुभयो।
संघका उपाध्यक्ष जगनाथ प्रजापतिले संशोधित ऐनका नयाँ व्यवस्थाहरू र रजिष्ट्रार कार्यालयको पछिल्लो निर्देशनबारे सदस्य संस्थाहरू लाई स्पष्ट पार्दै आगामी रणनीतिका लागि राय–सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संशोधित सहकारी ऐन २०७४ र सहकारी रजिष्ट्रार कार्यालयले जारी निर्देशनका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भरिका विभिन्न सदस्य सहकारी संस्थाहरूबाट अध्यक्ष, सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिहरू गरी कुल १०६ जनाको बाक्लो उपस्थिति रहेको थियो । संघका सचिव कान्छा भक्त घजुले संचालन गरेको सो कार्यक्रममा सहभागीहरूले नीतिगत अन्योलताका बीच संघले लिएको अगुवाइको सराहना गर्दै आवश्यक कानुनी स्पष्टताका लागि निरन्तर पहल गर्न सुझाव दिएका थिए ।


Related News

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...

कर योजना तालिम सम्पन...

काेपाेमिस तालिम सम्प...

उपसमितिका सदस्यहरुको...

“नवीनतम व्यवसाय र प्...

‘सदस्य सक्षमता विकास...

वार्षिक समीक्षा तथा...


Members