६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा 'कर्जा असुली न्यायाधीकरण' सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर, चैत्र २० "उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता" भन्ने मूल नाराका साथ ६९ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुरमा एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (Bhaktapur District Saving & Credit Co-operative Union Ltd.) को आयोजनामा "कर्जा असुली न्यायाधीकरण" (Debt Recovery Tribunal) सम्बन्धी उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
सहकारी क्षेत्रमा बढ्दै गएको कर्जा जोखिम र खराब ऋण व्यवस्थापनलाई कानुनी रूपमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा सहकारीकर्मीहरूलाई जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सहकारीको मूल मर्मलाई आत्मसाथ गर्दै ऋण लगानीमा पारदर्शिता अपनाउन र भाखा नाघेका कर्जाहरूलाई कानुनी प्रक्रिया मार्फत असुलउपर गर्न यस्ता अभिमुखीकरणले मद्दत पुग्ने विश्वास व्यक्त गरे।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाभरका सहकारीहरूको क्षमता अभिवृद्धि र सुशासनका लागि निरन्तर यस्ता तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।